Saturday, July 18

केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ।

Advertisement

तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

Advertisement
Advertisement

यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरेको थियो।

Advertisement

केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन्। विभिन्न निर्वाचन क्षेत्र तथा कलस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने छ।

बैठकले केन्द्रीय तहका नेताको व्यवस्थापनमा आएको समस्या समाधान गर्न उनीहरुलाई स्वतः प्रतिनिधि छनोट गर्न लागिएको विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो।

एक सय २५ जना कार्यकर्ता बराबर एकजना प्रतिनिधि छनोट गरिने छभने दलित, युवा, महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। नयाँ नेतृत्व चयन गर्ने पार्टीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म हुँदैछ।