
नेपालअखबार,काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।
यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।
त्यसपछि सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाएका थिए । सांसदहरूले ‘ब्ल्याक आउट’मा सदन नचलाउन आग्रह गरेपछि सभामुखले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएर पूरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

