Monday, July 27

आइतबारसम्म देशभर मनसुन फैलिने

नेपालअखबार, काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार बिहीबारसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले जानकारी दिइन् ।

Advertisement
Advertisement

“नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन”, मानन्धरले भनिन्, “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जानेछ ।” उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो ।

Advertisement

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।