Tuesday, July 28

ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिए : प्रचण्ड

नेपालअखबार, काठमाडौं । सत्ता बहिर्गमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । मंगलबार समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए ।

Advertisement

‘बरु मै प्रधानमन्त्री बन्छु, तपाईं छाड्नुस् भनेको भए पनि मैले मान्दिन्थें, तर ओलीले किन यसरी धोका दिनुभयो ?’, प्रचण्डको भनाइ उद्धृत गर्दै मोर्चाको बैठकमा सहभागी एक नेताले सुनाए, ‘संविधानलाई सही ट्र्याकमा राख्ने नियत छैन, उहाँहरु मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा यो कुरा लगेर जाउँ ।’

Advertisement
Advertisement

प्रचण्डले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतत्व जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरे ।

Advertisement

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्चालाई उति चासो नदिएको भन्दै आलोचना गरे । आफ्नो पार्टी मूख्यालयमा आइपुगेका प्रचण्डसहित अरु नेतालाई नेपालले भने, ‘कांग्रेस–एमालेले लोकतन्त्र र सुशासनमाथि समेत चुनौती दिन सक्छन्, सरकारमात्रै बदलिएको होइन, यसको पछाडि धेरै खेलहरु भएका हुन सक्छन् ।’

विगतमा मोर्चामा सहभागी हुँदै आएको जसपा नेपाल मंगलबार अनुपस्थित रह्यो भने महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी बैठकमा सहभागी थियो । मोहनविक्रम सिंह लगायत अरु घटकलाई पनि मोर्चामा जोड्ने निर्णय भएको नेपालले बताए ।

‘सत्ता परिवर्तनमात्रै भएको होइन, धेरै षड्यन्त्रहरु हुन सक्छन् भन्नेमा सचेत छौं’, नेपालले भने, ‘कार्यदल बनाएका छौं, बाँकी योजना त्यसैमार्फत् अगाडि आउँछ ।’