Wednesday, September 2

सबैया साझेदारी वन अतिक्रमणमा

नेपालअखबार, वीरगञ्ज । पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ।

Advertisement

पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका–३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन्।

Advertisement
Advertisement

सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिए।

Advertisement

सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा  सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उनको भनाइ छ । विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो।

‘आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्,’ पूर्वअध्यक्ष साहले भने।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताए। डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले सबै निकायसँग समन्वय गरेर वन अतिक्रमण हटाइने बताए।

यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो। उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ।

अहिले कार्यालयसँग सात कर्मचारी छन् । उक्त  सबडिभिजनअन्तर्गत तीन हजार १८८ दशमलव ६९ हेक्टर वन क्षेत्र पर्छ।

पर्सामा ११ हजार ५७५ हेक्टर वन क्षेत्र रहेको छ।

साझेदारी वन व्यवस्थापन समूहभित्र वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेकका ३० वडा तथा पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ पर्दछ।