Thursday, July 30

राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिँदैन : चित्रबहादुर केसी

नेपालअखबार,बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्  । सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले प्रधानमन्त्री केपी ओलीलाई विश्वास मत नदिने बताएका हुन् ।

Advertisement

प्रगतिशील पत्रकार सङ्घ नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार चलाउनेहरूको चरित्र र व्यवहार गतिलो नभएकोले विश्वासको मत दिन नसकिने बताए ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच असार १७ गते राति भएको सहमति सार्वजनिक गर्नुपर्ने समेत अध्यक्ष केसीको भनाइ छ ।

Advertisement
Advertisement

रातारात गरेको ७ बुँदे सहमतिमा भएका विषय जनतालाई जानकारी गराउनुपर्ने बताउँदै उनले भने, ‘जनताको आँखामा छारो हालेर देशलाई कमाइ खाने भाँडो बनाउन पाइँदैन ।’

Advertisement

छलछामको राजनीतिले राम्रो सन्देश नदिने बताउँदै उनले कांगेस एमालेको बिचमा भएको ७ बुँदेमा संविधान संशोधन गरेर प्रदेश हटाउने सहमति भए सरकारलाई समर्थन गर्न सकिने बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने बताए ।

उनले सत्ता चलाउँदै आएका नेताहरूको गल्तीका कारण लोकतन्त्र र गणतन्त्रको स्थायित्व हुन नसकेको दाबी गरे ।