Saturday, May 23

संघीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

मंगलबारकै बैठकमा सभामुख घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहनुहुने सांसदहरूको नाम प्रस्ताव गर्ने कार्यसूची छ।

Advertisement

यसैबीच आजको संसद् बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। आज बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले संयुक्त समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ। आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।