Saturday, July 11

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

नेपालअखबार, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ ।

Advertisement

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए ।

Advertisement
Advertisement

उनले भने, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

Advertisement
पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णयानुसार भदौ ५ गतेअघि स्याउ बगैँचा धनीलाई स्याउ सङ्कलन र व्यापारीलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताए ।

उनका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।