Friday, July 17

ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ

नेपालअखबार, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।

Advertisement

असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।”

Advertisement
Advertisement

“अस्पतालमा दैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्”, सूचना अधिकारी डा भण्डारीले भने। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उनले भने, “सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ ।”

Advertisement

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् । रासस