Sunday, April 19

गाेरुले कुल्चिएर एक महिलाको मृत्यु

नेपालअखबार, बुटवल। बुटवलकाे गाेलपार्कमा गाेरुले कुल्चिएर एक महिलाको ज्यान गएकाे छ।

गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो।

Advertisement

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो।

‘सडकमा पैदल हिँड्नु भएकाे रहेछ त्यही बेला दुई वटा साँढे जुध्दै आएका रहेछन्, जुधेकाे साँढेमध्ये एउटा भागेर जाने क्रममा उहाँलाई कुल्चेर घाइते बनाएकाे रहेछ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने। गाेरुले कुल्चिएर गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए। घाइते पाण्डेको उपचारका क्रममा शुक्रबार मृत्यु भएकाे प्रहरीले जनाएको छ।