Thursday, July 30

शैक्षिक प्रणाली खत्तम पार्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन्।

Advertisement

शनिबार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकार र संवद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

Advertisement
Advertisement

‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन्। नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भीर हुनुपर्ने आवश्यकता छ,’ उनले भने।

Advertisement

उनले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए।

विश्वविद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने धेरै रहेको उनले बताए। ‘आफ्नो अनुशासनलाई टाइट बनाउनुपर्ने कुराहरु, परीक्षा समयमा तयार नगर्ने, तयार भएपछि समयमा नछाप्ने, त्यसपछि समयमा परीक्षा नहुने, परीक्षाका कपीहरु नै सुरक्षित नहुने, समयमा त्यो कपीको जाँच नहुने, रिजल्ट प्रकाशित नहुने, समयसीमाप्रति गम्भिर नहुने, यस्ता खालको अनेक जुन समस्याका पाटाहरु आएका छन्,’ उनले भने।

त्यसकारण अपारदर्शीका पाटादेखि अनेक समस्याहरुबारे खुला विमर्शहरु हुनुपर्ने उनले बताए। विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग बृहत छलफल गर्नुपर्ने पनि अध्यक्ष नेपालले बताए।

अध्यक्ष नेपालले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए।

कसरी देशमा शिक्षा प्रणालीमा सुधार गरी दक्ष जनशक्ति तयार गर्ने, योग्य जनशक्ति तयार गर्ने, कुनकुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौं, लगायतका विषयमा गम्भीरताका साथ ध्यान दिन जरुरी रहेको उनले बताए।

अध्यक्ष नेपालले सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए।