Tuesday, April 21

गण्डकी प्रदेशसभा बैठक बस्दै

नेपालअखबार, पोखरा । लामो समय सत्ता समीकरणको उलटफेरका कारण रोकिएको गण्डकीको संसद् बैठक आजबाट नियमित चल्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले आज २ बजेका लागि बैठक बोलाएका छन् ।

असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन् । संसद् बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ ।

Advertisement

यस्तै, संसदमा यसअघि नै टेबुल भैसकेको जीवनाशक विषादी व्यवस्थापन विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार र मर्मत सम्भार गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ ।

आजकै संसद् बैठकमा २ वटा विधेयकहरू टेबुल हुनेछन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्ने विधेयक र केही प्रदेश ऐन संशोधन विधेयक सभामा पेस हुने संसद् सचिवालयले जनाएको छ ।