Monday, July 6

पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा

नेपाल अखबार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले  जानकारी दिए । त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।
यसवर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिँदैछ । यसका लािग आज बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको छ । अहिले पूजा आजाको विधि भइरहेको छ । बेलुकी गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाउने कार्यक्रम रहेको पनि उनले बताए ।
विगत वर्षमा भने गङ्गामाईलाई रथारोहण गराई हजारौँ मानिसले पशुपति क्षेत्रमा रथयात्रा गराउँथे । यस वर्ष कोभिड–१९ महामारीका कारण भीडभाड गर्नु नहुने भएकाले गुरुज्यूको पल्टन भनिने शार्दुलजङ्ग गुल्म पनि सहभागी नहुने भएको छ । विधिका लागि एक जना प्रतिनिधि भने आउने जनाइएको छ ।
पशुपति गुठी गोश्वारा कार्यालयले आर्यघाट गङ्गामाईको रथयात्रा चलाउने गरेको छ । यात्राका क्रममा मार्गमा स्यावजी छर्ने, फूलमाला वर्षाउने, दक्षिणा चढाउने, यात्रा मार्गमा सम्यवजी वितरण गर्ने लगायत काम हुने जनाइएको छ । यात्रा सकेपछि यसका रकमीलाई प्रसाद वितरणको कार्यक्रम समेत रहेको छ । रथयात्राको पूजा आराधना एवं दर्शन गरेमा रोग नलाग्ने, मानिस स्वस्थ हुने भन्ने जनविश्वास छ ।रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *