Friday, July 17

दशहरा मेलामा ५५ फिटको रावण वध

नेपालअखबार, नेपालगन्ज। नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरू भएको रामलीला महोत्सवको आज दसौं दिन विशेष रावण वध गर्न लागिएको छ। रामलीला नाटक प्रदर्शनीमा शनिबार ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ।

Advertisement

यस वर्ष आयोजना गरिएको १५७औं रामलीला महामहोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण वध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए।

Advertisement
Advertisement

शनिबार साँझ रावण वधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ। कनोडियाका अनुसार भारतको मथुरा वृन्दावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्ने छन्। आइतबार भरत मिलाप तथा शुभराज्याभिषेक गरेर रामलीला सकिनेछ।

Advertisement

रामलीला मैदानमा शनिबारकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरू आउने गर्छन्।

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलसमेत राखिएका छन्। महोत्सव आसपासका सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

वर्षौंदेखि आयोजना हुँदै आएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लीला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लीला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले जानकारी दिए।