Tuesday, August 11

दसैंमा वडाभरिका २५५ परिवारलाई मासु चिउरा बाँड्ने वडाध्यक्ष

नेपालअखबार,  भरतपुर। भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैंमा मासुचिउरा  वितरण गरे।

Advertisement

उनले भरतपुर–१२ का २५५ परिवारलाई प्रति परिवार दुई किलो मासु र दुई किलो चिउरा वितरण गरे।

Advertisement
Advertisement

उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्न आग्रह गरेका थिए। ‘वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे,’ उनले भने।

Advertisement

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका थिए । त्यहाँ संकलित रकमले पनि विपन्नको सहयोगका लागि खर्चिन्छन्।

गत तीजमा उनले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए।

‘तीजमा तीन लाख रूपैयाँ खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु,’ उनले भने। तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ। आफ्नो घरमा पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ। उनले भने, ‘गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ।’

गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा१८ लाख ६० हजार बराबरको दान गरेका थिए। आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरे।

‘जन्मदिन, तीज, दसैं, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिनँ,’ उनले भने।

जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उनीसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ। जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिए।

उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गरेका छन्। यसका अतिरिक्त क्रिकेट रंगशाला, मठ मन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन्।

उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन्। वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ। वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिए।

बाग्लुङ नगरपालिका–७ मा जन्मिएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन्।

उनले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आएका छन्। उनले भने, ‘दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ।’