Monday, April 20

इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

नेपालअखबार,सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन्। भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो ।  नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य  छभने सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गरेका छन् भने केही आफैँले पनि रोपेका छन् । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए।

Advertisement

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए । एउटा नाङ्लो  रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।

नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताए । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।  नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउछन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो  बेच्ने गरेका छन् ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उनले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आएका विक्रमले घरका  सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भने ।