Friday, July 31

खबरदारी सभा कसैलाई बचाउनका लागि होइन :प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् ।

Advertisement

शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।

Advertisement
Advertisement

‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ’, उनले भने ।

Advertisement

माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै प्रचण्डले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’

आफू प्रधानमन्त्री हुँदादेखि नै दोषी कोही बच्नुहुँदैन र निर्दोष कोही फस्नुहुँदैन भनेको भन्दै उनले सहकारी पीडितलाई न्याय दिन पनि आफूले सिंहदरबारमा पचासौं बैठक गरेको बताए ।

रवि लामिछानेविरुद्ध संसदमा प्रश्न उठेपछि आफू छानबिन समिति गठन गर्न तयार भएको र पछि रवि पनि तयार भएको तर हालका प्रधानमन्त्री ओलीले नमानेको प्रचण्डले बताए ।

‘रवि लामिछानेसँग कुरा गर्दा समिति बनाएर छानबिन गर्न उचित हुन्छ, दोषी हो भने कारबाहीका लागि तयार हुनुपर्छ, होइन भने उन्मुक्ति हुनुपर्छ डराउनुपर्ने के छ भनेको थिएँ, छानबिन समिति बन्न हुँदैन भन्ने केपी ओली हो, रविलाई हर हालतमा बचाउनुपर्छ भन्ने केपी ओली हो’, उनले भने ।