Monday, July 27

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

नेपालअखबार,म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

Advertisement

घोडेपानीबाट बिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालोका साथै मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न विद्युत् तथा पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गरे ।

Advertisement
Advertisement

‘अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती नहुँदा, मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा विद्युतिय उपकरण चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो’, उनले भने, ‘पानीको अभावमा शौचालय जान पनि समस्या भइरहेको छ।’

Advertisement

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युत् आपूर्ति नियमित गर्न केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुसमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पुर्‍याएको थियो। स्थानीयले ‘मिटरबक्स’ जडानमा बेवास्ता गर्दा विद्युत् आपूर्ति रोकिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

उनका अनुसार स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पुर्‍याइएको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरे गरे ।

पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपरेको पर्यटकले गुनासो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले यहाँ मिटरबक्स राख्न समस्या भएको बताए । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उनले बताए ।

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजारको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख एक सयमा ठेक्का लगाएको छ ।