Tuesday, April 21

गलकोटका सबै बस्तीमा पुग्यो सडक

नेपालअखबार,बागलुङ । बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाका बस्तीसम्म सडक पुर्‍याएको छ । अब नयाँ ट्र्याक खोल्न बन्द गरेको जनाएको नगरपालिकाले ती सडकलाई फराकिलो र स्तरीय बनाउन सुरु गरिएको जनाएको छ ।

नगरप्रमुख भरत शर्मा गैरेका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलोमिटर ग्रामीण सडक रहेका छन् । नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएकोमा आफूहरु निर्वाचित भएर आएपछि २२० किलोमिटर बढी सडक निर्माण भइसकेको उनले बताए ।

Advertisement

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाका सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे ।

यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ ।

गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको थियो ।

‘गलकोट नगरपालिकाका धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ’, प्रमुख गैरेले भने, ‘अधिकांश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौं, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौं ।’

गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै उनले यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको बताए । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० किलोमिटर ढलान तथा कालोपत्र, ८० किलोमिटर ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए ।

गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सहज भएको उल्लेख गरे ।