Tuesday, July 28

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

नेपालअखबार, कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ।

Advertisement

अन्नपूर्ण गाउँपालिका प्रबर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
Advertisement

पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको लान्द्रुकको महभिरमा एक सय वर्षअघिदेखी परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए।

Advertisement

लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भिरमा मौरीका घार रहेका छन्। भिरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यप्रद्र्धक समेत मानिन्छ।

‘हनी हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेछौँ । महभिरमा गएर मह काढ्ने, मह निकाल्ने र प्रदर्शन तथा बिक्री वितरणले गाउँको पर्यटन विकास हुने अपेक्षा छ,’ अध्यक्ष गुरुङले भने।

कोटेसाङ भिरमा ६० मौरी घार छन्। भिरमौरीको मह प्रतिलिटर रु तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताए। मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भिर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो । यहाँबाट पुन हिलसमेत जान सकिन्छ। पर्यटकीयस्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताए।

यसैगरी महोत्सवका अवसरमा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। भलिबलको विजेताले रु ७० हजार, द्धितीयले रु ४० हजार र तृतीयले नगद रु २० हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक महादेव गुरुङले जानकारी दिए।