Saturday, May 2

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

नेपालअखबार,काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँ स्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।  जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रूपमा भवन हस्तान्तरण गरेका हुन् ।

भवन २.९२४ करोड रुपैयाँमा लागतमा निर्माण गरिएको हो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको थियो।

Advertisement
 जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक प्रतिनिधिहरू, र सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे। नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुनेछ । यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्‍याउनेछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस सन् २००० मा स्थापना भएको हो ।  क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पीसीएल) अध्यापन गराउँदै आएको छ र प्रत्येक वर्ष १२० तालिमप्राप्त नर्स उत्पादन गर्दछ।