Wednesday, July 29

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना

नेपालअखबार ,उदयपुर। कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो।

Advertisement

पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ।

Advertisement
Advertisement

‘अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ,’ उनले भने, ‘कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ।’

Advertisement

कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो।

‘घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो,’ उनले भने।

अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताए।

यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ।

‘यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन।’

पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताए।

वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ। सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो।