Friday, July 10

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक

नेपालअखबार ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्ति सहज बनाइने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

Advertisement

उनले भने, ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनै पर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं।’

Advertisement
Advertisement

नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन, र सम्मानित सर्वोच्च अदालतबाट पटकपटक फैसला भएका छन्,’  उनले भने, ‘पटक/पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकारअगाडि बढेको छ।’

Advertisement

समितिले झण्डै तीन महिनामा सबै कुराको अध्ययन गरेर अदालतका फैसला, मौजुदा कानुनी व्यवस्था, विभिन्न जिल्ला प्रशासनमा देखिएका जटिलतालाई अध्ययन गरेको छ । गृहमन्त्री लेखकले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताए ।

‘हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गर्छौँ । कहाँ के समस्या औल्याउनुभएको छ ? समाधानका उपाय के देखाउनुभएको छ । यसको के निष्कर्ष उहाँहरूले दिनुभएको छ ? यो कुरालाई अध्ययन गरेर थप आवश्यक काम हामी गर्छौँ ।’

प्रतिवेदनमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता पाउन सहज हुनेलगायतका विषय समेटिएका छन् ।