Monday, April 20

गण्डकी प्रदेशसभा– विनियोजन विधेयकमाथिको छलफल जारी

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेशसभा सचिवालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल भएको छ ।
बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटमा स्वास्थ्य बीमा, लक्षित वर्ग एवं समूहका लागि सहुलियत कार्ड वितरणलगायतका काम समेट्न खोजिनु स्वागतयोग्य भएको बताए । अर्का सदस्य कृष्णबहादुर थापाले बन्दाबन्दीका कारण समयमा कर तथा राजस्व बुझाउन नसकेका उद्योग तथा व्यवसायलाई छुट दिनेलगायतका विषय उल्लेख भएको बताए ।
सदस्य मनकुमारी गुरुङले विदेशबाट फर्केर आउने युवालाई कृषिमा आकर्षित गरी रोजगारी अभिवृद्धि गर्नुपर्ने सुझाव दिइए पनि त्यसतर्फ ध्यान दिइन् । सदस्य पियारी थापाले कोरोनासँग लड्नका लागि प्रदेश राजधानी बाहिर एउटा मात्रै आइसियु बेड रहेको पाइएको बताउँदै जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटरको व्यवस्था गर्न माग गरे ।
सदस्य धनमाया पोखरेल लामाले कृषिमा अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको बताउँदै अनुदानको कार्यविधि सामान्य जनतालाई चिन्न सक्ने हुनुपर्ने धारणा राखिन् । सदस्य मीना गुरुङले प्रदेशमा कृषिका धेरै सम्भावना रहेको बताइन् ।
सदस्य धनञ्जय दवाडीले सामाजिक विकास मन्त्रालयले कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उल्लेख गर्दै पर्यटनको आम्दानी त्यही क्षेत्रमा नै लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिन् ।सदस्य ओमकला गौतमले कृषिमा आत्मनिर्भर गराउनका लागि पर्याप्त बजेट नभएको बताउँदै महिला हिंसा रोक्ने खालका कार्यक्रम आउन नसकेको गुनासो गरिन् । सदस्य रोशन गाहा मगरले किसानलाई समयमा नै बीउ, मल तथा कीटनाशक औषधि प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । बैठकमा सदस्य सरिता गुरुङ, मनबहादुर गुरुङ, आशा कोइराला र विष्णुप्रसाद लामिछाने पनि बोलेका थिए । अर्को बैठक असार १७ गते दिनको १२ बजे बस्नेछ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *