Sunday, August 2

प्रधानमन्त्री ओली देशकै सबैभन्दा धेरै जाली, झेली र बेइमान भएको प्रचण्डको आरोप

नेपालअखबार , काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै सबैभन्दा बढी ‘जाली, झेली, कपटी र बेइमान’ व्यक्तिको संज्ञा दिएका छन्।

Advertisement

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र झापा-५ को गौरीगन्जमा सोमबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले गिरीबन्धु प्रकरणमा ओलीले गरेको बद्मासी पर्दाफास गर्ने चेतावनी पनि दिएका छन्।

Advertisement
Advertisement

‘देशमा सुशासनको अभियान र भ्रष्टाचारविरूद्धको अभियान सुरू भइसकेको छ। यो खबरदारी सभा पनि भ्रष्टाचारीविरूद्धकै हो,’ प्रचण्डले भने, ‘म अस्तिको पटक यहाँ आउँदा यहाँका किसानका समस्याबारे पनि सुनेको छु। मैले गिरीबन्धु टिइस्टेट मैले आफैले हेरेको छु। त्यहाँका किसानहरूको समस्या सुनेको छु। सम्भवतः यो ठाउँ अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी,  मेरो लागि त यति धेरै जाली, यतिधेरै झेली कि उनको ठाउँमा बोल्दैछु। उहाँको दिमागमा जालझेलबाहेक केही देखिँदैन।’

Advertisement

ओलीलाई गाली गर्दा ताली बजेपछि झनै उत्साही बनेका उनले थपे, ‘गिरीबन्धुमा गरेको बद्मासीलाई पर्दाफास गरेर छोड्ने छु। गिरीबन्धु, ओम्नी, वाइडबडी यी तमाम समस्या छन्।’

आफूलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक रूपमा हटाइएको बताउँदै प्रचण्डले भने, ‘मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक र तानाशाही रूपमा हटाइयो। सुइँ गिरीबन्धुतिर जाँदैथियो। गिरीबन्धुतिर सुइँ जानु ओलीतिरै जानु हो। बेचन झा गिरफ्तार भएपछि अर्कोतिर पनि सोझियो। त्यसपछि आतंक भयो। सोझो कुरा त्यति नै हो। यो भ्रष्टाचारी बचाउन बनेको सरकार हो। यसले विकासका काम गर्छ भन्नु दुर्भाग्य हुनेछ।’