Tuesday, July 28

अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने

नेपालअखबार ,काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।

Advertisement

यसअघि प्रहरी निरीक्षकका लागि २५ वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था थियो । नेपाल प्रहरीका एक अधिकृतका अनुसार, पहिले स्नातक तहको परीक्षा दुई वा तीन वर्षमा पूरा हुने परिकल्पनाका आधारमा इन्स्पेक्टरमा आवेदन दिन २५ वर्ष उमेर तोकिएको थियो ।

Advertisement
Advertisement

तर, अहिले स्नातक तहको कार्यक्रम ४ वर्ष पुगिसकेको अवस्थामा त्यसलाई समयानुकूल परिमार्जन गरिएको एक प्रहरी अधिकृतले बताए । ‘बीए एलएलबी पढिसक्न अहिले पाँच वर्ष लाग्छ, उनीहरु प्रतिस्पर्धामै नआउने भए’, ती अधिकृतले भने, ‘त्यसैले यसलाई सम्बोधन गर्न दर्खास्त दिने उमेरहद बढाइएको हो ।’

Advertisement

पछिल्लो समय इन्स्पेक्टरमा दर्खास्त दिनेकै संख्या कम भइरहेको बेला प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव अघि सारेको थियो । यसपछि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌बाट निर्णय भएर संसद्‌मा दर्ता विधेयकमा यो प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयकमा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुन १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने, प्रहरी जवानमा भर्ना हुन १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।

प्रहरी कार्यालय, सहयोगी पदमा १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । प्राविधिकतर्फ भने प्रहरी नायब उपरीक्षक (डीएसपी) मा २३ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले प्रतिष्पर्धा गर्न सक्ने भनिएको छ ।

प्राविधिक प्रहरी इन्स्पेक्टरका लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।