Friday, July 10

चार महिनादेखि त्रिपालमुनिको बास

नेपालअखबार,धुलिखेल । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन्।

Advertisement

बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित भएपछि उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन्।

Advertisement
Advertisement

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन्।गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन्।

Advertisement

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन्।अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेका सुकुमाया सिङतानको पीडा पनि कम छैन।

भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेका उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताए।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छ।

गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ। सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउँला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनीहरूले बताए।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए ।

‘अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन,’ अध्यक्ष थिङले भने, ‘जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।’

अहिलेसम्म पनि सङ्घीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ।पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ।जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।