
नेपालअखबार,काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्चको फैसला कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । बिगेसोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गोर्खा सैनिक भर्ती सम्बन्धी सम्झौता अन्यायपूर्ण भएको ठम्याउँदै त्यसलाई सुधार्न सर्वोच्चले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने जनाएको हो ।
ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको बिगेसोले जनाएको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले निरन्तर प्रदर्शन गर्ने निर्णय भएको ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बुले बताए ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबिच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसोले संघर्ष गर्दै आएको छ ।
आफ्ना मागका बारेमा सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौँमा लालटिन प्रदर्शन समेत गर्ने बिगेसोले जनाएको छ ।


