Tuesday, May 12

हाम्रो पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन तयार छौं :अध्यक्ष नेपाल

नेपालअखबार,पोखरा ।  नेकपा एकीकृत समाजादीका अध्यक्ष माधव नेपालले एमालेले  एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गरेको औचित्य पुष्टि भएन भन्ने आवाज आफूले सुनेको भन्दै उनले एमालेले गरिरहेको गतिविधिबाट विद्रोहको औचित्य पुष्टि भएको बताएका हुन्।  भीम रावललाई कारबाही गरेर निकालेपछि आफूहरूले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन्।

‘विद्रोहको औचित्य पुष्टि गर्न सकेन भन्ने सुनेको छु। भीम रावललाई कारबाही गरेर निकालेपछि पनि पुष्टि भएन? वामदेव गौतम एकता गर्छु भनेर हामीकहाँ आउँछु भनेर ठिक्क परेको मान्छेलाई अल्मल्याएर एकता कहाँ सम्भव छ भनेर बेइज्जत गरेपछि पनि चित्त बुझेन,’ उनले भने, ‘हुँदाहुँदा पार्टीमा केही कुरा उठायो भनेर कारबाही गरेर बिजोग बनाएर पनि चित्त बुझेन।’

Advertisement

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम सुन्दा पनि वाकवाकी लाग्ने र आफूलाई आउट भनेको पनि उनले सुनाए। यस्तो अभिव्यक्ति दिइरहेकाले एमालेसँग पार्टी एकताको कुनै गुञ्जायस नभएको उनले बताए।

‘नाम सुनेर पनि वाकवाकी लाग्छ भनेर पनि चित्त बुझेन। फालाना व्यक्तिलाई आउट, अरूलाई इन भन्दा पनि चित्त बुझेन,’ उनले भने, ‘यस्ता वाहियात कुरा गरेर एमालेसँग एकताको गुञ्जायस छ भन्ने भ्रमबाट मुक्त हुनुस्।’

नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै नेपालले माओवादीसँग पनि पार्टी एकता नहुने बताए।

‘माओवादीसँग मिल्दैछ भन्ने वाहियात कुराबाट मुक्त हुनुस्, हाम्रो पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन तयार छौं,’ उनले भने।

विचार र अरू कुरा मिल्ने वामपन्थी पार्टीहरूसँग एकता गरेर जान तयार रहेको उनले बताए।

समाजवादी मोर्चा आफ्नै कारणले सक्रिय भएको भन्दै उनले आन्दोलनका कार्यक्रम अघि सारेको बताए।

अहिलेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग विकास निर्माणको हुटहुटी पनि नभएको र विकासको सोच पनि नभएको उनले आरोप लगाए।

‘अहिले तमासा भइराखेको छ। हामीले भण्डाफोर गरिराखेका छैनौं,’ उनले भने, ‘प्रधानमन्त्रीसँग विकासको हुटहुटी पनि छैन। विकासको सोच पनि छैन। त्यस्ता व्यक्तिले यो देश चलाउन सक्लान्! जनताले लाभ पाउलान् भनेर आश नगरे पनि हुन्छ।’