Saturday, August 22

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।

Advertisement

बुधबार दुई राष्ट्रपतिबीच लामो टेलिफोन वार्ता भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

ट्रम्पले पनि आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर पुटिनसँग लामो र अत्यन्तै उपयोगी फोनवार्ता भएको बताएका छन्।

Advertisement

उनले विशेगरी रूस-युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्नेबारे पुटिनसँग छलफल भएको बताएका छन्।

‘लाखौंको ज्यान जानेगरी भएको युद्ध रोक्नुपर्ने विषयमा हामी दुवै सहमतिमा पुगेका छौं,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

युद्ध अन्त्यका लागि मध्यस्त गर्न विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाइएको ट्रम्पले बताएका छन्। ट्रम्पले रूसी राष्ट्रपतिसँग भएको कुराकानीबारे युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीलाई पनि जानकारी गराउने भनेका छन्।

युक्रेनमा सन् २०२२ देखि रूस युद्धमा छ।

ट्रम्पले त्यतिबेला अमेरिकाको राष्ट्रपति आफू रहेको भए रूस-युक्रेनबीच युद्ध नै नहुने पनि पुनः दोहोर्‍याए।  ‘नहुनुपर्ने युद्धको अब अन्त्य हुनुपर्छ। कसैले पनि ज्यान गुमाउनुहुँदैन,’ ट्रम्पले भनेका छन्।

त्यस्तै आगामी दिनहरूमा अमेरिका र रूस मिलेर काम गर्ने पनि दुई राष्ट्रपतिबीच सहमति भएको ट्रम्पले बताए।

‘हामीबीच मिलेर काम गर्ने सहमति भएको छ। छिट्टै एक अर्काको देश भ्रमण पनि गर्नेछौं,’ ट्रम्पले भनेका छन्।

टेलिफोन वार्तामा युक्रेनसँगै मध्यपूर्वबारे पनि कुराकानी भएको ट्रम्पले बताएका छन्। साथै ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, डलरको शक्ति लगायत धेरै विषयमा छलफल भएको भनेका छन्।

‘हामीले दोस्रो विश्वयुद्ध सँगै लडेको र जितेको इतिहासबारे कुरा गर्‍यौं। त्यतिबेला दुवै देशले लाखौं मानिसहरू गुमाएकोबारे कुरा गर्‍यौं र दुई देशको शक्तिबारे कुरा गर्‍यौं,’ ट्रम्पले भनेका छन्, ‘दुई देश सँगै मिलेर काम गरेको अवस्थामा एक अर्कालाई फाइदा भएको कुरा गर्‍यौं र आगामी दिनहरूमा मिलेर काम गर्ने कुरा गर्‍यौं।’

तर सबैभन्दा पहिले युक्रेनमा जारी युद्ध रोक्ने विषयलाई जोड दिइएको ट्रम्पले बताएका छन्।

रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ। त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन्।

उनी अमेरिकाको राष्ट्रपति चुनिएपछि रूसी राष्ट्रपति पुटिनले ट्रम्पको प्रशंसा गरेका थिए भनेर न्युयोर्क टाइम्सले लेखेको छ।