Tuesday, July 28

अश्वेत आन्दोलनलाई सघाएका सैन्य नेतृत्वलाई ट्रम्पले गरे बर्खास्त

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति देशका सबैभन्दा ठूलो सैन्य अधिकारीलाई अचानक पदमुक्त गरिदिएका छन् ।

Advertisement

ट्रम्पले अमेरिकी सेनाका ज्वाइन्ट चिफ स्टाफ (जेसीएस) का अध्यक्ष चार्ल्स सी. क्यू. ब्राउन जुनियरलाई पदमुक्त गरेका हुन् ।

Advertisement
Advertisement

जेसीएस अमेरिकाको रक्षा विभागका सबैभन्दा वरिष्ठ सैन्य कमाण्डरहरूको समूह हो। यो समूहले राष्ट्रपति, रक्षा मन्त्री, होमल्याण्ड सेक्युरिटी काउन्सिल र नेशनल सेक्युरिटी काउन्सिललाई सैन्य मामिलामा सल्लाह दिन्छ।

Advertisement

सी. क्यू. ब्राउनले सन् २०२० मा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। यो आन्दोलन अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या पछि सुरु भएको थियो। त्यसबेला ब्राउन अमेरिकी वायुसेनाका चिफ अफ स्टाफ थिए।

त्यस समयमा ट्रम्प अमेरिकी राष्ट्रपति थिए। सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पको पराजयको पछाडि यस आन्दोलनको ठूलो भूमिका रहेको मानिन्छ।

अरू ५ अधिकारी पनि बर्खास्त

ब्राउनसँगै ट्रम्पले अरु ५ जना सैन्य अधिकारी पनि बर्खास्त गरेको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

उनीहरू रक्षा विभागका अधिकारीहरू रहेका छन् ।  बर्खास्त हुनेमा नौसेना प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला अफिसर एडमिरल लिसा फ्रेन्चेटी, वायुसेनाका डेपुटी चिफ जेम्स स्लाइफसहित सेना, वायुसेना र नौसेनाका तीन उच्च ओहदाका अधिकारीहरू रहेका छन् ।

यद्यपि अहिलेसम्म उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

नयाँ जिम्मेवारी कसलाई ? 

ट्रम्पले ब्राउनको स्थानमा रिटायर्ड वायुसेना जनरल ड्यान केन लाई जेसीएस अध्यक्षको जिम्मेवारी सुम्पिएका छन्। ट्रम्प र ड्यान केनबीच सन् २०१८ मा इराकमा भेट भएको थियो। त्यतिबेला केनले आफू ट्रम्पका लागि ज्यान दिन पनि तयार रहेको बताएका थिए ।

बाइडेनविरुद्ध निशाना

ट्रम्पले तत्कालीन जो बाइडेन नेतृत्वको सरकाररले ड्यान केनको पदोन्नति रोकेको आरोप लगाए । ‘ड्यान केनको पदोन्नति रोकिएको थियो किनभने उनी मेरा नजिकका थिए। उनी फोर-स्टार अफिसर बन्न लायक थिए,’ ट्रम्पले भने ।

 ट्रम्पले सुरु गरेको नयाँ अभ्यास

यसअघि अमेरिकामा सरकार परिवर्तन भए पनि जेसीएस अध्यक्षलाई हटाउने परम्परा थिएन । सामान्यत: जेसीएस अध्यक्षले चार वर्षको कार्यकाल पूरा गर्छ र दुई प्रशासनलाई जोड्ने काम गर्छ ।

तर, ब्राउनलाई मात्र १६ महिनामै हटाइयो। उनलाई १ अक्टोबर २०२३ मा जेसीएस अध्यक्ष बनाइएको थियो।

उनी अमेरिकी सैन्य इतिहासमा दोस्रो अश्वेत अधिकारी थिए, जसले यो पद प्राप्त गरेका थिए। उनी फोर-स्टार फाइटर पाइलट पनि हुन्।

रक्षा मन्त्रीले पहिले गरेका दिए संकेत

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पद सम्हाल्नु अघि नोभेम्बरमा ब्राउनलाई हटाउने संकेत गरेका थिए। उनले अमेरिकी सेनामा विविधता र समानता (डीईआई) नीति हटाउनुपर्ने बताएका थिए ।

‘अमेरिकी सेनाबाट विविधता र समानताको नीति हटाउनुपर्छ, र यसको पहिलो कदम ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्षलाई बर्खास्त गर्नु हो,’ उनले भनेका थिए ।

अब ब्राउनलाई हटाइएको घटनालाई सोही अभिव्यक्तिसँग जोडेर हेरिएको छ।