Saturday, April 18

आज महाशिवरात्रि, पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

नेपालअखबार,काठमाडौँ । आज महाशिवरात्रि पर्व मनाइँदैछ।

महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

Advertisement

आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ

आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

आज बेलुकी करिब ६ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको  छ।

सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।

यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको कोषले जनाएको छ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको छ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्था गरिएको छ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।