Friday, July 10

निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ। विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो।

Advertisement

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ।

Advertisement
Advertisement

निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन्। उनले भने, ‘घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन।’

Advertisement

निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए।

नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए।

थापाका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति हुँदैन। उनले भने, ‘अनियन्त्रित डढेलोका कारण क्षति पुग्छ। नियन्त्रित डढेलो लगाउँदा वन्यजन्तुमा क्षति हुन पाउँदैन।’

नियन्त्रित डढेलो लगाउँदा पर्यापर्यटनका गतिविधिमा समेत असर नपर्ने उनको भनाइ छ। डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने उनले बताए।

चर्को गर्मीसँगै डढेलो फैलने भएकाले यो मौसममा नियन्त्रित डढेलो लगाउने गरिन्छ। यस निकुञ्जमा दुलर्भ वन्यजन्तु गैँडा, बाघ, हात्ती, चित्तललगायतका वन्यजन्तु रहेका छन्। यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन्।

नियन्त्रित डढेलोले निकुञ्जभित्रको बाटोबाट टाढा–टाढासम्म वन्यजन्तु देख्न सकिन्छ। डढेलो पछिको मौसममा पर्यटकले सहजै वन्यजन्तु देखिने भएकाले सफारीका लागि रूचाउने गर्दछन्। अनियन्त्रित रूपमा हुने डढेलो निकुञ्जले नियन्त्रण गर्ने गर्दछ।

निकुञ्जमा हुने सीमित स्रोत साधनका कारण सोचे जति नियन्त्रण गर्न कठिन हुने मगरले बताउनुभयो। चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ। यसले वन र वन्यजन्तुलाई क्षति  गर्दछ। क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइने गरिन्छ।