Saturday, August 1

संविधान संशोधनका लागि सरकारले गृहकार्य अघि बढाउन सकेन: एनपी साउद

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अहिलेको सरकारले संविधान संशोधनका लागि गृहकार्य अघि बढाउन नसकेको बताएका छन्।

Advertisement

कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै नेता साउदले सत्ता गठनबन्धका तर्फबाट पनि संविधान संशोधनका एजेन्डाहरू बाहिर ल्याउने काम नभएको बताएका हुन्।

Advertisement
Advertisement

‘संविधान संशोधनको बाटोमा दुई तिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ उनले भने, ‘सत्तारूढ गठनबन्धकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौं।’

Advertisement

गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति हुँदा संविधान संशोधनका कुरा पनि समावेश गरिएको थियो। तर सरकार बनेको यतिका समय भइसक्दा पनि संविधान संशोधनबारे गृहकार्य नभएको उनको भनाइ छ।

‘संविधानका सफल पक्षहरूलाई बलियो बनाउने र कमिकमजोरीलाई हटाउने भनेर सात बुँदे सहमतिमा लेखिएको थियो,’ साउदले भने, ‘एजेन्डा खोलिएको थिएन। शासकीय स्वरुपका बारेमा एजेन्डा खोलिएको थिएन। समानुपातिकका बारेमा एजेन्डा खोलिएको थिएन। अन्य कुराका बारेमा पनि एजेन्डा खोलिएको थिएन। त्यसलाई अमुर्त रुपमा मात्रै प्रवेश दिएर प्रतिबद्धता व्यक्त गरिएको अवस्था थियो।’

साउदले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति विस्तार–विस्तारै विस्मरणमा जान लागेको पनि बताए।

‘सात बुँदे सहमति गरेका छौँ। सात बुँदे सहमतिका आधारमा सरकार सञ्चालन गर्ने भनिसकेपछि त्यो सात बुँदेका महत्वपूर्ण बुँदाहरू पनि अहिले विस्तारै विस्मरणमा जान थालेको अनुभव भइराखेको छ,’ उनले भने।

नेता साउदले दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको ढाँचाका बारेमा पनि नागरिकले अहिले पनि हेर्न सकेको अवस्था नरहेको बताए।

‘हामीले सुशासनका कुरा गरिराखेका थियौं। दुईतिहाइको सरकारले मुलुकलाई दिने सुशासनको यो ढाँचा छ भनेर अहिले पनि जनताले हेर्न सकेको अवस्था छैन,’ उनले भने।

उनले कांग्रेसको १५ औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन्।