Monday, July 27

वीरगन्जमा भएको झडपमा प्रहरीसहित ४३ जना घाइते

नेपालअखबार,वीरगन्ज ।  हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई  समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन्।

Advertisement

दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन्।

Advertisement
Advertisement

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

Advertisement

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए। ‘मेरो त दाहिने हातमा चोट लागेको छ,’ उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन। अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ।’

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते भएका छन् ।

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए।

‘शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ,’ उनले भने, ‘कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ  । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।’

प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए।

‘अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ,’ उनले भने। सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए।

‘एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ,’ उनले भने, ‘अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।’

जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।