Monday, May 11

विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने : अध्यक्ष माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८२ सालमा विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ।

नयाँ वर्ष २०८२ को आरम्भको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले भन्नुभएको छ, ‘नयाँ वर्ष २०८२  साल आरम्भ भएको सुखद् अवसरमा सवै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिंदै आएका छौँ। नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो। दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि नयाँ वर्ष २०८२  साल उपलब्धिमुलक हुने मैले विश्वास लिएको छु।’

Advertisement

अध्यक्ष नेपालद्धारा जारी विज्ञपितमा अगाडि भनिएको छ, ‘गत वर्ष मुलुकको राजनीतिका लागि निकै महत्त्वपूर्ण वर्ष रह्यो। यद्यपि, मुलुकको अर्थतन्त्रका सामु अनेकौ चुनौतिहरू विद्यमान छन्। संविधानको मर्म,भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी नै छन्।  राष्ट्रिय पुँजीको विकास गर्दै उद्यमशीलता प्रवद्र्धन र स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुनुपर्नेछ। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्नु पर्नेछ। मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्षसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु। नयाँ वर्ष २०८२  ले न्यायपूर्ण र सुसंस्कृत समाजवादी मुलुकको निर्माण गर्ने नेपाली जनताको चाहनामा सारथी बन्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’