Thursday, January 22

कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियो: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनु भएको छ।

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभएको हो।

Advertisement

उहाँले कम्युनिस्ट पार्टीले मुलुकमा भएका निरंकुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट नेताहरू निष्ठावान हुनुपर्ने जनाउँदै कम्युनिस्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो।

मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गरी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो।