Saturday, August 8

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

नेपालअखबार, महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् । बर्दिबास–५ का ६८ र बर्दिबास(२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

Advertisement

बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग रहेकी छन् । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा  (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन् । ‘यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ’, आलेले भनिन्, ‘अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।’ श्रीमान कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा उनको सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ ।

Advertisement
Advertisement

बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी रहेकी छन् । स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन् । जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् ।

Advertisement

घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए । हातखुट्टा पक्षघातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए । आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए ।

जिल्ला नापी कार्यालयले बर्दिबास–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गरे । पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ ।

‘हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नापजाँच गरी प्रमाणपुर्जा बनाएका हौँ’, नापी कार्यालय प्रमुख सिंहले भने, ‘जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाणपुर्जा क्रमशः वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।’ उनका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाणपुर्जा सबै घरबास जग्गा हुन् ।

जिल्लाका सबै स्थानीयतहका वडा तथा बस्तीमा क्रमशः बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार वितरण गरिएका प्रमाणपुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।