Wednesday, July 22

यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस सेवा दिँदै प्रहरी

नेपालअखबार, काठमाडौं ।नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा बस चलाउने भएको छ।

Advertisement

यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि आइतबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए।

Advertisement
Advertisement

दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।

Advertisement

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।

सार्वजनिक यातायात बन्द हुँदा लामो दुरीका यात्रुहरू मर्कामा परेका छन्। छोटो दुरीमा भने राइडर्सहरूले सेवा दिइरहेका छन्।

अहिले राइड सेयरिङ एपहरूमा पनि चाप बढेको छ।

कतिपय राइडरहरूले बढी भाडा लिन खोजेको, अफलाइन भाडा उठाउन खोजेपछि प्रहरीले ट्राफिक प्रहरीलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ।