Saturday, August 8

गजामा सहायता पुर्‍याउन खोजेकी जलवायु अभियन्ता थुनबर्गसहित जहाज इसराइली नियन्त्रणमा

नेपालअखबार,काठमाडौँ । इसराइलले गजामा लगाएको नौसैनिक नाकाबन्दी तोड्न जहाजमा सहायता सामग्री बोकेर गएका जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहित प्यालेस्टिनी समर्थकहरूलाई इसराइली सेनाले नियन्त्रणमा लिएको छ।

Advertisement

ब्रिटिश झण्डावाला सो जहाजले प्रतीकात्मक मात्रामा गजामा सहायता पुर्‍याएर त्यहाँको मानवीय संकटबारे अन्तर्राष्ट्रिय जागरूकता बढाउने लक्ष्य राखेको थियो। तर सोमबार बिहान तटमा पुग्नु अघि नै सबेरै इसराइली सेना सो जहाजमा चढेर नियन्त्रणमा लियो।

Advertisement
Advertisement

‘सेलिब्रिटीहरू’को ‘सेल्फी याट’ सुरक्षित रूपमा इसराइलको तटतर्फ जाँदैछ। यात्रुहरू आ-आफ्नो देश फर्कने अपेक्षा गरिएको छ,’ इसराइली विदेश मन्त्रालयले एक्समा लेख्यो।

Advertisement

सबै यात्रुहरू सुरक्षित रहेको र उनीहरूलाई कुनै किसिमको हानि नपुर्‍याइएको विदेश मन्त्रालयले जनायो।

‘उनीहरूलाई स्यान्डविच र पानी प्रदान गरिएको छ। तमाशा सकियो,’ मन्त्रालयले थप्यो।

सो जहाज पठाउने प्यालेस्टिनीको समर्थन गर्ने संस्थाले भने निशस्त्र सर्वसाधारण चढेको जहाज इसराइलले गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगायो। जहाजमा स्वीडिश जलवायु अभियन्ता थुनबर्गसँगै फ्रान्सबाट निर्वाचित युरोपेली सांसद रीमा हसन पनि थिइन्।

सो अभियानलाई हमासको समर्थनमा प्रचार प्रयास भन्दै इसराइली रक्षा मन्त्री इजरायल काट्जले सो जहाजलाई कुनै पनि हालतमा गजा पुग्न नदिनु भनेर आइतबार सेनालाई आदेश दिएका थिए।

सन् २००७ मा हमासले गजाको नियन्त्रण लिएपछि इसराइलले तटीय क्षेत्रमा नौसैनिक नाकाबन्दी लगाएको थियो।

हमासले २०२३ अक्टोबर ७ मा इसराइलमा हमला गरेर १२ सय बढी इसराइली मारे पछि पनि नाकाबन्दी कायमै छ। इसराइलले चलाएको जबाफी कारबाहीमा अहिले सम्म दशौं हजार बालबालिका र महिला समेत गरी ५४ हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

गजामा इसराइलले खाद्यान्न लगायत सहायता सामग्री लैजान समेत रोकेकाले त्यहाँ मानवीय संकट छ। प्यालेस्टिनी जनता भोकमरीको सामना गरिरहेको भनेर अन्तर्राष्ट्रिय जागरूकता बढाउने उदेश्यले थुनबर्ग लगायतले नाकाबन्दी तोडेर सहायता सामग्री पुर्‍याउने प्रयास गरेका हुन्।