
नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) अन्तर्गतको जनवर्गीय संगठन ‘नेपाल रिटर्नी एशोसिएसन (समाजवादी)’का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक पदमा मनोनित भएका कमलसिंह क्षेत्रीलाई कैलाली पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा केन्द्रीय सचिव प्रकाश महराले सपथ खुवाएका छन्।कार्यक्रममा सचिव महराले वर्तमान भूमिसम्बन्धी संकट समाधान गर्न जमीनको विवरण भौतिकरण, चक्लाबन्दी, भूमि बैंक र व्यवस्थापनजस्ता अभियानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै, अबको युग कृषि उद्योग र निर्यातमुखी उत्पादन प्रणालीमा आधारित हुनुपर्ने बताए।
उनले थपे, “सेना, प्रहरी, सशस्त्र प्रहरी, सहकारी संस्थाजस्ता संरचनाको संयुक्त प्रयोग गर्दै आन्तरिक श्रमशक्ति परिचालन गर्न सके खाडी मुलुकमा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै सम्भावना दिन सकिन्छ।”युवाहरूले बाध्यतामा विदेश जानुको सट्टा स्वदेशमै कृषि उत्पादन, प्रशोधन, र निर्यातमार्फत आत्मनिर्भरता हासिल गर्ने, खाद्यान्न अभाव अन्त्य गर्ने र विप्रेषण रकमलाई औद्योगिकीकरणमा रुपान्तरण गर्ने योजना आवश्यक भएको उनको भनाइ थियो। उनले सरकारले भूमि बैंक सम्बन्धी मुद्दालाई बजेटमा स्थान दिएकोप्रति धन्यवाद दिँदै अब कार्यान्वयन पक्षमा थप गम्भीर हुन आग्रह गरे।
संयोजक कमलसिंह क्षेत्रीले नवनियुक्त जिम्मेवारीलाई गौरवको अवसरका रूपमा लिँदै संगठनप्रति आभार प्रकट गरे। उनले संगठन र देश दुवैका हितमा समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता पार्टी प्रदेश कमिटी सदस्य सुरेन्द्रमान कार्कीले गरेका थिए भने कैलाली जिल्ला अध्यक्ष विमल जोशीले क्षेत्रीलाई बधाई दिंदै संगठनको गतिशील भूमिकाको प्रशंसा गरे। कार्यक्रममा प्रदेश सदस्य माधव बहादुर शाही, निरज शाह, दीपेन्द्र श्रेष्ठ, महेश महरा लगायत एशोसिएसनका जिल्ला सचिवालय टिमको उल्लेखनीय उपस्थिति रहेको थियो।

