Monday, July 20

नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नेपालअखबार,नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।  यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जनाएको छ ।

Advertisement

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

Advertisement
Advertisement

‘निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।’

Advertisement

उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।