
नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकप्रति गम्भीर आपत्ति जनाएको छ। विद्यार्थीका आधिकारिक प्रतिनिधिहरूलाई सहभागी नगराई बोलाइएको बैठक अमान्य हुने भन्दै संघले चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज हुन लागेको सिनेटमा विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको आरोप लगाएका छन्।
´विश्वविद्यालयको प्रमुख सरोकारवाला र विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केवल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो,´ विज्ञप्तिमा भनिएको छ।
संघले त्रिविमा योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा उपकुलपति नियुक्त हुनुपर्ने माग राख्दै देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको बेला सिनेट बैठक बोलाइएकोप्रति असन्तुष्टि जनाएको हो। प्रधानमन्त्री तथा कुलपतिले सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेको भन्दै नेविसंघले त्यसको पनि निन्दा गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ´विश्वविद्यालयको सुधारमा कुलपति, सहकुलपतिको सकारात्मक भूमिकाको अपेक्षा गरिराखेको समयमा उहाँहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद विषय हो।´
यदि विद्यार्थीहरूको आवाजलाई बेवास्ता गरिए चरणबद्ध रूपमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी कुलपति र सहकुलपतिले लिनुपर्ने चेतावनीसमेत संघले दिएको छ। यो घटनाले विश्वविद्यालयको नीति निर्माण प्रक्रियामा विद्यार्थी सहभागिताको विषयलाई लिएर विद्यार्थी संगठन र विश्वविद्यालय नेतृत्वबिचको तनावलाई पुनः सतहमा ल्याएको छ।


