Saturday, July 25

युक्रेनसँगको युद्धमा रूसलाई बिनासर्त समर्थन गर्ने उत्तर कोरियाको प्रतिबद्धता

नेपालअखबार,काठमाडौँ । उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

Advertisement

उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो देशले विनासर्त मस्कोलाई विनासर्त समर्थन गर्ने बताएको हो।

Advertisement
Advertisement

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले युक्रेनसँगको लडाइँमा रूसले चाल्ने सबै कदमलाई समर्थन र प्रोत्साहन गर्ने बताएका छन्।

Advertisement

‘युक्रेन संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमहरूलाई अहिले र भविष्यमा पनि बिना सर्त समर्थन र प्रोत्साहन गर्न उत्तर कोरिया तयार छ। यो समर्थन उत्तर कोरिया र रुसबीचको अन्तर-राष्ट्रिय सन्धिको भावना अनुरूप हुनेछ,’ किमको भनाइ उद्धृत गर्दै केसिएनएले लेखेको छ।

नेता किम र रूसी विदेशमन्त्रीबीचको भेटवार्तामा उनीहरूले दुवै देशको हितमा द्वीपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने र आफ्ना जनताको सुख, समृद्धि र उज्यालो भविष्य सुनिश्चित गर्न एक-अर्कासँग नजिकको सहयोग र समर्थन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

किमले रूसी सेना र जनताले राष्ट्रको इज्जत र आधारभूत हितको रक्षा गर्दै, देशको समृद्धिका लागि   पवित्र लडाइँ लडेको बताउँदै त्यसमा अवश्य जित हासिल गर्ने विश्वास व्यक्त गरे।

युक्रेनसँगको लडाइँमा उत्तर कोरियाले रूसलाई सैन्य सहायता प्रदान गरेको छ।

उसले युक्रेनविरूद्धको लडाइँमा रूसी सेनालाई सघाउन ११ हजार उत्तर कोरियाली सेना पठाएको थियो। ती सेना युक्रेनविरूद्धको लडाइँमा रूसले फ्रन्टलाइनमा खटाएको थियो। यसकारण धेरै उत्तर कोरियाली सैनिकको मृत्यु भएको भनेर रिपोर्टहरू सार्वजनिक भएका थिए।