Wednesday, July 15

मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ

नेपालअखबार,काठमाडौं । महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्‍याएको आरोपपछि फरार रहेकी एक महिला आठ वर्षपछि पक्राउ परेकी छन्।

Advertisement

२०७४ साल वैशाख ७ गते रूपन्देहीका २ जना र एकजना प्यूठानकी महिलालाई कुवेत लैजाने भन्दै भारत पु¥याएकी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
आठ वर्षसम्म फरार रहेकी परियारलाई सोमबार दुर्गा नगर घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। राम्रो कामको लागि कुवेत पठाउने भन्दै फकाइ फुलाई भारत पुर्‍याएपछि ती महिलाहरूले परियारमाथि आशंका गरेका थिए।

Advertisement
Advertisement

परियारले नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई आश्वस्त पारेकी थिइन्। तर भारतमा पुगेपछि आफूहरूलाई बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंका गरी उनीहरू मानव बेचबिखनको क्षेत्रमा कार्यरत के आई नेपालको सम्पर्कमा पुगेका थिए।

Advertisement

उनीहरूलाई २०७४ सालमै के आई नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतबाट उद्धार गरिएको थियो। नेपाल आएपछि ती महिलाहरूले आफूहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पु¥याएको भन्दै परियारविरुद्ध प्रहरीमा उजुरी दिएका दिए।

उनीहरूको उजुरीपछि परियारको खोजी गरिरहेको प्रहरीले आठ वर्षसम्म उनलाई पक्राउ गर्न सकेको थिएन। खोजीकै क्रममा सोमबार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा परियारलाई फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पक्राउ परेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी थप अनुसन्धान सुरू गरिएको कार्कीले जानकारी दिए।