Saturday, July 25

पार्टी व्यक्तिगत महत्त्वकांक्षा पूरा गर्ने ठाउँ होइन: परराष्ट्र मन्त्री राणा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन्।

Advertisement

कांग्रेस कास्कीले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन्।

Advertisement
Advertisement

‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो,’ उनले भनिन्।

Advertisement

कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै उनले उनीहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरुरी रहेको बताइन्।

‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ,’ उनले भनिन्। आसन्न पार्टीको १५ औं महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास उनको छ।

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै उनले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्ने बताइन्।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताइन्।