Monday, November 3

अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको वैश्विक प्रभाव कमजोर बन्दै निष्कर्ष निकालेको छ ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकले अमेरिकाको नेतृत्वको उदारवादी विश्व व्यवस्था अब विघटन हुने दाबी गरेको हो ।

Advertisement

‘विश्व एक प्रकारले अब एक धुव्रबाट बहुधुव्रतर्फ गइरहेको छ, मुख्यत: अमेरिकाको नेतृत्वमा भएको उदारवादी विश्व व्यवस्था अब विघटन हुँदैछ’, माओवादी बैठकको निष्कर्ष छ ।

डलरको साम्राज्य कमजोर बन्दै गएको भन्दै भारत, चीन र रूस सम्मिलित समूह ब्रिक्सले प्रचलनमा ल्याउने भनेको मुद्राले डलरलाई प्रतिस्थापन गर्ने माओवादी केन्द्रको बुझाइ छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा विश्व परिस्थितिबारे पनि कुरा उठेको भन्दै उपाध्यक्ष अग्नी सापकोटाले आइतबार पत्रकारहरुसँग भने, ‘अमेरिकाको नेतृत्वमा भएको उदारवादी व्यवस्था अब विघटन हुँदैछ, खासगरी चीन, रूस र भारत विश्व शक्तिका रुपमा आउँदैछन् ।’

शक्ति राष्ट्रहरुले संयुक्त राष्ट्रसंघलाई समेत कमजोर बनाइरहेको ठहर गर्दै माओवादी केन्द्रले विश्व राजनीतिक रंगमञ्चमा नेपालको भूमिका कमजोर भएको जनाएको छ ।

नेपालले वैश्विक उपस्थित प्रभावी बनाउन आफ्नो भूमिका बढाउनुपर्ने र राष्ट्रिय दृष्टिकोण निर्माण गरेर उच्च कूटनीतिक कौशल बनाउनुपर्ने पार्टीको निष्कर्ष रहेको उपाध्यक्ष सापकोटाले बताए ।