
नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो ।
टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् ।
सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।मन्त्रालयका अनुसार १० असार भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३० भन्दा बढी छ ।

