Saturday, July 18

ट्रम्पले पुटिन र जेलेन्स्कीसँग चाँडै भेटवार्ता गर्ने

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेटवार्ता हुने बताएका छन्।

Advertisement

युक्रेन युद्ध अन्त्य गर्नका लागि आफ्ना दूत र तेस्रो देशहरूबाट मध्यस्थता गर्दा सफलता नमिलेपछि ट्रम्प आफैले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताएका हुन्।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी साता नै ट्रम्पले पुटिनसँग प्रत्यक्ष वार्ता हुने भनेका छन्।

Advertisement

मस्कोमा आफ्ना विशेष दूत स्टिभ विट्कोफ र पुटिनबीच तीन घन्टा लामो वार्ता भएपनि त्यसबाट युद्धविरामको ब्रेकथ्रू हुने संकेत नदेखिएपछि ट्रम्प आफैले पुटिनसँग वार्ता गर्ने भनेका हुन।

उनले यसबारेमा युरोपेली नेताहरूलाई बुधबार नै टेलिफोन गरी जानकारी दिइसकेका छन्। युरोपेली नेताहरूसँगको टेलिफोन संवादमा पनि ट्रम्पले आगामी साता नै पुटिनसँग प्रत्यक्ष भेतवार्ता हुनसक्ने भनेका छन्।

उनले बुधबार मस्कोमा भएको वार्तामा प्रगति भएको भनेर ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए। तर युक्रेनमा युद्धविरामका बारेमा भने केही खुलाएका छैनन्।

क्रेमलिनले वार्तालाई सकारात्मक र रचनात्मक भनेको छ। उसले युद्धविरामको विषयमा भने थप विषय सार्वजनिक गरेको छैन।

वार्ता सकिएपछि ट्रम्प आफैले पुटिनसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने बताएका हुन्।

सकेसम्म त्रिपक्षीय भेटवार्ता गर्ने पक्षमा ट्रम्प रहेको भनेर रोयटर्सले लेखेको छ।

‘वार्ता चाँडै हुने सम्भावना प्रबल छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग बुधबार भनेका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने रूसी पक्षले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्न इच्छा व्यक्त गरेको बताएकी छन्।

‘ उहाँहरूले प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको हो। र, हाम्रो राष्ट्रपति पुटिन र जेलेन्स्की दुवैसँग वार्ता र छलफलका लागि खुला हुनुहुन्छ,’ प्रेस सेक्रेटरी लेभिटले पत्रकारहरूसँग भनेकी छन्।

ट्रम्पले रूसलाई एक साताको समय दिएर युद्धविरामका लागि सहमत हुन भनेका थिए।

त्यसो नभए रूसलाई एक सय प्रतिशत भन्सार लगाउने र अन्य थुप्रै विषयमा प्रतिबन्ध लगाउने धम्की दिएका थिए।

त्यतिमात्रै होइन रूसबाट तेल किन्ने देशहरूलाई पनि सेकेन्डरी भन्सार लगाउने चेतावनी दिएका थिए। सो अनुसा भारतलाई ५० प्रतिशत भन्सार लगाउने घोषणा ट्रम्पले गरिसकेका छन्। उसले अझै किनिरहे थप भन्सार लगाउने पनि चेतावनी दिएका छन्।

चीनलाई पनि रूसी तेल खरिदबापतको सेकेन्डरी भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका छन्।

रूसलाई युद्धविराममा सहमतिका लागि ट्रम्पले दिएको समयसिमा शुक्रबार सकिँदैछ।

त्यसपछि के हुन्छ भन्ने विषयमा ट्रम्प बोलेका छैनन्।

यद्यपि पुटिनसँग भेटवार्ता हुने निश्चित भए ट्रम्पले रूसलाई केही समय दिन सक्नेछन् भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

अमेरिकी र रूसी राष्ट्रपतिबीच २०२१ देखि प्रत्यक्ष भेटवार्ता भएको छैन।

२०२१ को जुनमा तत्कालीन राष्ट्रपति जो बाइडेनले पुटिनसँग जेनेभामा भेटवार्ता गरेका थिए। त्यसको ८ महिनापछि रूस-युक्रेन युद्ध सुरू भएको थियो। पुटिन र जेलेन्स्की २०१९ यता भेटेका छैनन्।