
नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार बहुप्रतिक्षित शिखर बैठक हुँदैछ।
अमेरिकाको अलास्कामा ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे प्रत्यक्ष भेटवार्ता हुन लागेको हो।
भेटवार्ता अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा हुनेछ।
दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि बैठक सुरू हुने अमेरिकी मिडियाहरूले जनाएका छन्।
शिखर बैठकका लागि रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेको भनेर रूसी समाचार संस्था तासले जनाएको छ। उनीसँगै अमेरिकाका लागि रूसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगिसकेका छन्।
पुटिनका मुख्यमध्येका सहयोगी युरी युशाकोभका अनुसार बैठक मस्कोको समयअनुसार शुक्रबार राति साढे १० बजे सुरू हुनेछ।
अलास्कामा ट्रम्प र पुटिनबीच वान अन वान वार्ता हुने भनिएको छ। वान-अन-वान वार्तामा दुवै पक्षका दोभाषेहरू मात्रै सहभागी हुने भनेर तासले लेखेको छ।
दुई राष्ट्रपति युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर वार्ता गर्नेछन्। त्यसबीच अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्दर्भका समसामयिक विषयहरूमा पनि छलफल हुने भनिएको छ।
वार्ताका लागि अलास्का जाने रूसी टोलीमा विदेशमन्त्री लाभ्रोव, पुटिनका सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ,विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ रहेको तासले जनाएको छ।
रूसी राष्ट्रपति पुटिन भने अलास्का पुगिसकेका छैनन्।
मस्कोबाट उडिसकेका भए पनि सुदूरपूर्वी रूसको मगादानमा रोकिएका छन्। त्यहाँ उद्योग, सांस्कृतिक केन्द्र, खेलकुद सुविधा र स्मारक भ्रमण गर्ने कार्यक्रम छ। त्यसपछि पुटिन सिधै अलास्का जाने र त्यहाँ ट्रम्पसँग शिखर वार्तामा सहभागी हुने भनेर तासले लेखेको छ।

